Saturday, February 21, 2015

यात्रा कुटनीति 1



       राहुल सांकृत्यायनले विश्वका बत्तीस देशको भ्रमण गर्दै, भाषा सिक्दै विहेवारी गर्दै व्यक्तिगत अनुभव बटुले । उनले आफ्नो पुस्तक ‘यात्रा के पन्ने’ मा आफ्ना ती भ्रमणको यथार्थ वर्णन गरेका छन् । चिनियाँ यात्री मञ्जुश्रीको आगमनले चोभारको डाडाँ काटेर पानी निकाले पछि उपत्यका बस्न लायक भयो भनि नेपालीहरु विश्वास गर्दछन् । मार्कोपोलोले यात्रा नगरेको भए युरोपियनहरुले सभ्य, भव्य, सुसंस्कृत एशियाको वारेमा धेरै पछि मात्र जानकारी पाउँथे होलान् । घुमक्कड भएकै कारण विश्वको सम्पन्नता, साधन श्रोत माथि अधिकार जताउन व्रिटिस साम्राज्यले एशिया र अफ्रिका, अमेरिका समेतमा आफ्नो आधिपत्य कायम गरेको थियो । घोडा चढेरै चंगेजखाँ, कुवलयखाँ, बच्चा खाँजस्ता पाँचजना महान मंगोलियन यौद्धाहरुले मध्यकाल सन् ११ देखि १३ सय ईश्वी सम्म मंगोलिको विस्तार विकाश गरेका हुन् । पृथ्विनारायण शाहले मकवानपुर जाँदा चन्द्रागिरीबाट समतल, उब्जाउ, सुन्दर उपत्यका नदेखेका भए तत्कालिन नेपाल ‘काठमाडौ उपत्यका’ माथि आँखा गाड्ने थिएनन् र नेपालको एकिकरण नहुन सक्थ्यो । हामी हाम्रो मुलुक भनेर अहिले मेची महाकालीको सिमानामा चन्द्रसूर्य अंकित झण्डा फहराउन सफल नहुन सक्थ्यौं । यात्राले भौगोलिक ज्ञान, भाषाको आदान प्रदान, एक अर्कोको वानि व्यहोरा खान पानको जानकारि गराउँछ । देशाटन पौराणिक काल देखि हाल सम्म महत्व राख्ने विषय हो ।
       विश्वमा यात्राकै माध्यमबाट हिन्दु, बौद्ध, ईसाई, इस्लाम धर्म गुरुहरुले धर्म फैलाएको देखिन्छ । राजनीतिक भाषामा भन्दा भ्रमणले सम्बन्ध स्थापना, विकाश र विस्तार गर्न मद्दत गर्छ । कतिपय उच्च स्तरका भ्रमण पनि गोप्य हुन्छन् । सत्रु राष्ट्रमा पनि गोपनीय रुपमा अनौपचारिक भ्रमण गरिन्छ । औपचारिक भन्दा अनौपचारिक भ्रमणले देशको सम्बन्ध विस्तारमा काम गरेको हुन्छ । औपचारिक भ्रमण सरकारी तहका हुन्छन् भने जनः स्तरका भ्रमणले सरकार–सरकार विच हुने सम्बन्धलाई प्रगाढ बनाउने काम गर्दंछ । कतिपय परिस्थितिमा सरकारी भ्रमणलाई पनि निजि सम्पर्कलाई सम्बन्ध र निजि भ्रमणले सम्भव बनाएको हुन्छ । गतवर्ष साउदी अखीयाका राजकुमारको नेपाल भ्रमण सरकारको निमन्त्रणा नभई एक जना नेपालीको व्यक्तिगत सम्बन्धका कारण भएको थियो । यसै सन्दर्भमा लेखकले सरकारको निमंत्रणामा वा निजि तवरमा गरेका भ्रमणको अनुभवलाई नेपाल र पूर्वी एशियाको सम्बन्धको विषय वस्तु बनाई यो पुस्तकमा पस्केको छ । यो लेखकको नितान्त व्यक्तिगत अनुभव भएपनि यसले नेपालको पूर्वी एशियाली मुलुकसँगको तितो मिठो, उराठ लाग्दो र रमाइलो लाग्दो सम्बन्धको क्षेत्रमा पाठकलाई पक्कै जानकारी दिई सम्बन्ध सुधारमा काम गर्ने छ । हुन त चीन र मंगोलिया भौगोलिक हिसाबले उत्तरतिरका मित्र राष्ट्र हुन् । राजनीतिक हिसाबले विश्वले हेर्दा चीन, मंगोलिया, जापान, कोरिया, पूर्वीय राष्ट्रमा पर्दछन् । अतः त्यसै आधारमा कोरिया, जापान, चीन र मंगोलियाको भ्रमणले सबै मुलुकमा नेपालबाट बुद्ध धर्मको आगमन भएको कारण पनि धार्मिक, आर्थिक, सामाजिक र अन्त्यमा विकासको सम्भावना बढाउन यो यात्रा कूटनीतिले सघाउने छ । सन् २००० देखि २००९ सम्मको यात्रा कूटनीतिको अनुभव ।

थोपा थोपा मिलेर समुन्द्र बन्छ भनेझैं इकाई कावागुचि, मञ्जुश्री, ह्वेन साङ, अरनिको, भृकुटीहरुले गरेको नेपाल, चीन र जापान भ्रमणले नेपाल र पूर्वी एशियाको सम्बन्धमा भूमिका खेलैझैं हाम्रा मुलुकमा गरिने निजी भ्रमणले पनि कूटनीतिक सम्बन्ध प्रगाढ बनाउन मद्दत गर्ने नै छ ।

0 comments: