Tuesday, September 18, 2018

विचारयात्रा भित्र नियाल्दा

विचारयात्रा भित्र नियाल्दा

‘विचारयात्रा’ राजनीतिक विश्लेषक धनप्रसाद पण्डितको आफ्नै विचार यात्रा हो । डेढ दशक भन्दा लामो समयदेखि त्रि.वि. सेवामा रहेर राजनीतिशास्त्र प्राध्यापन गर्दै आउनु भएका लेखक पण्डितले आफ्नो विचारयात्रामा १५ वर्ष यताका राजनीतिक घटनाक्रमलाई समय सापेक्ष रुपमा निरुपण गर्दै लेखिएका लेखहरु प्रस्तुत गर्नुभएको छ । यो कृतिमा २०४८ सालदेखि २०६३ सालसम्म लेखिएका र  विभिन्न पत्रपत्रिकामा प्रकाशित टिप्पणीमूलक राजनीतिक लेखहरु र सो अवधिमा लेखकले विभिन्न मुलुकको भ्रमण गर्दा हासिल भएका अनुभव समेटेर लेखिएका लेख रचनाहरु समावेश गरिएका छन् । लेखकले आफूलाई प्रजातान्त्रिक राजनीतिक चिन्तनधारमा समाहित गर्दै समसामयिक घटनाहरुबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने जमर्को गर्नुभएको छ भने राजनीतिमा अन्धानुशरण गर्ने जुन प्रवृति छ त्यसबाट माथि उठेर सापेक्षिक रुपमा वस्तु परक धारणा प्रस्तुत गर्न पनि उहाँ प्रयत्नशील रहेको देखिन्छ । सुदुर पश्चिम नेपालको बझाङ जिल्लाबाट संघर्षमय जीवनको यात्रा प्रारम्भ गर्दै राजधानी काठमाडांैमा आएर स्थापित हुन सफल हुनुभएका राजनीतिक विश्लेषक धनप्रसाद पण्डितले राजनीतिशास्त्रका विद्यार्थीका रुपमा नेपालको समसामयिक राजनीतिक विकासक्रमलाई नजिकबाट नियाल्नु भएको पुष्टि विचारयात्राले नै दिएको छ ।
    विचारयात्रामा समावेश गरिएका ३८ वटा लेख रचनाहरुको भावभूमि तात्कालिक घटनाहरु नै हुन् तापनि नेपालको राजनीतिक परिवेशभित्र क्रमिक रुपमा विकसित भएका सकारात्मक, नकारात्मक प्रवृत्तिहरुको मौलिक लेखाजोखा गर्ने प्रयास लेखकबाट भएकाले नेपालको राजनीतिक घटनाक्रमको विकासबारे चासो राख्ने जिज्ञासु पाठकहरुका लागि विचारयात्रा राम्रो सहायक सामाग्री बन्न सक्छ । २०५२ सालमा देशान्तर साप्ताहिकमा प्रकाशित उहाँको लेख “सांसद सुविधावृद्धि सेवकहरुलाई मात्र मालामाल” विचारयात्रामा संग्रहित पहिलो रचना हो भने यो लेखले संसदिय अभ्यासमा प्रवेश गर्नासाथ प्रजातान्त्रिक राजनीतिक दलहरु भित्रै के कस्ता नकारात्मक प्रवृत्तिहरु विकसित भए भन्ने देखाएको छ ।
 “के बहुदल आफैंमा असल छ ?” उहाँले २०४८ सालमा “पुनर्जागरण” साप्ताहिक मार्फत उठाउनु भएको सवाल वैचारिक बहसको गतिलो मुद्दा अहिले पनि छ । उहाँले “नेताहरुबाटै प्रजातन्त्र आहत छ” भनी ०५५ सालमा नै कलम चलाउनु भएको थियो । राजनीतिमा नैतिकता, सपनाको राजनीति, राजनीति–पैसा र इज्जत जस्ता विषय चुनेर उहाँले नेपालको समसामयिक राजनीतिमा देखापरेका विकारमूलक प्रवृत्ति औंल्याउँदै आउनु भएको थियो । ती समस्याहरु नेपालको राजनीतिमा अहिले पनि छन् । तात्कालिक राजनीतिक घटनासँग आवद्ध रहेर लेखिएका रचनाहरुमा उहाँले गर्नुभएको विचार तात्कालिक परिवेशका लागि मात्र नभै अहिलेका लागि पनि उत्तिनै मननीय छन् भन्न सकिन्छ ।
    प्रस्तुत कृतिमा उहाँले नेपाल भारतबीचको सम्बन्धमा देखिएका केहि समस्याबारे पनि आफ्ना धारणा प्रस्तुत गर्नुभएको छ भने कूटनीतिक पक्षमा पनि उहाँको ध्यान खिचिएको छ । उहाँले दक्षिण एसियाली अध्ययन भ्रमणदेखि लिएर बेलाएत, जापान, दक्षिण कोरिया, अमेरिका र श्रीलंकामा गरेको भ्रमणलाई विषयवस्तु बनाएर प्रस्तुत गर्नु भएका सामाग्रीहरु  सूचनात्मक छन् भने उत्तिकै ज्ञानवद्र्धक पनि छन् । उहाँको “जेल डायरीका केहि पाना” पनि रोचक छ । परिशिष्टमा उहाँले निजी पत्रहरु समेत समावेश गर्नुभएको छ । २०४ पृष्टमा छरिएका उहाँका विचारहरु राजनीतिक विकास क्रमबारे राख्ने पाठकहरुका लागि राम्रो समाग्री बन्ने कुरामा कुनै सन्देह छैन । जे.पी. प्रतिष्ठान प्रकाशक रहेको सो कृतिमा डा. पूर्णकान्त अधिकारीको शुभकामना पत्र, प्राध्यापक श्रीधर खत्रीको भूमिका र मित्रसेन दाहालको प्रकाशकीय टिप्पणी पनि समावेश छ ।
                                                        –घिमिरे