Sunday, July 19, 2015

यात्रा कुटनिती पुस्तकका बारेमा प्राध्यापक ध्रुवकुमारको भनाइ




हामीले सानो छँदा पढेका थियौं ः यात्रा गर्नु शिक्षाप्रद मात्र नभई अरूबाट सुन्नु, किताब पढेर जानकारी लिनुभन्दा आफ्नै नाङ्गो आँखाले देख्नु, अन्तरक्रिया गर्नु र बुझ्नुबाट अझ बढी (First Hand) ज्ञानोपार्जन गर्न सकिन्छ र भ्रामक स्थितिमा बस्नुपर्ने अवस्था पनि रहँदैन । स्कुले अवस्थामा आफ्नै मुलुकभित्रका विभिन्न ऐतिहासिक स्थलहरूको शैक्षिक भ्रमणबाट पनि विद्यार्थीहरूले धेरै सिक्न र बुझ्न पाउँछन् । त्यसैले भ्रमण लाभदायी नै हुन्छ ।
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेसामा संलग्न लेखक धनप्रसाद पण्डितको एक किसिमको घुमन्ते जीवनको केही अंश समेटिएको यो सँगालोबाट पनि यही अनुभूत गर्न सकिन्छ । उनले भ्रमण गरेको एशियालीका मुलुकमा साथै युरोपेली मुलुकहरू, खासगरी दक्षिण कोरियाले गरेको विकासको प्रगति विवरण, त्यहाँका मानिसहरूको मित्रवत् व्यवहार, सदासयता र सहयोगी भावनालाई प्रस्तुत गरेका छन् । आफ्नो मुलुकको अनवरत राजनीतिक अस्थिरता र अविकसित स्थितिसित दाँज्दा यसलाई हाम्रो राष्ट्रको शासकीय प्रवृत्तिमै आमूल परिवर्तनको आवश्यकताको अनुभव हुन्छ ।
आफ्नो मुलुकको अवस्थासित दक्षिण कोरियाली राजधानी सोलको अत्याधुनिक छटा र नेपालको सांस्कृतिक सम्पदाले भरिपूर्ण राजधानी काठमाडौंको दुरावस्था एक ट्याक्सी ड्राइभरको व्यवहारबाट प्रष्ट्याउँछन् उनी । तर पनि जस्तोसुकै दुःखदायी स्थितिमा समेत हाँसी खेली बस्न सक्ने नेपालीहरूको उज्यालो अनुहारको अगाडि अत्याधुनिक प्रविधि र आर्थिक विकासले सुखसयलका साथै साधन सम्पन्न मुलुकका मानिसहरूको व्यस्त जीवन तर मलिन अनुहार अति नै टिठलाग्दो रहेको लेखकको अनुभव छ ।
कोरियाले विकासको गति पक्डेकोले हामी मध्येका केही नेपालीहरू त्यहाँ आफ्ना अमूल्य श्रमको खपत गरिरहेका छौं । उनीहरूले गरेका आर्थिक उपार्जनका केही भाग विप्रेषण (रेमिट्यान्स) को रूपमा नेपाल भित्रिएको छ र राष्ट्रिय अर्थतन्त्रलाई केही सघाएको पनि छ । तर आधुनिक कोरियाको जीवनशैली समय–समात्न दौडेका मानिसहरूको व्यस्तताले गर्दा उनीहरूको मुहारको कान्ति हराएको छ । लेखक भन्छन् ः ‘कोरियाली युवायुवतीको अनुहार अभावमा पनि प्राकृतिक हाँसो हाँस्ने नेपालीको जस्तो उज्यालो हँसिलो छैन ।’
यसको साथै लेखकले थातथलोबारे प्रस्तुत गरेको विवरण र स्थानीयहरूले अपरिचित व्यक्तिहरूसँग गरेको व्यवहारको रमाइलो प्रस्तुति गरेका छन् । जापान लगायत अतिसम्पन्न मुलुक स्वीडेनमा कोही कोहीसँग बोल्न तयार नभएको देख्दा लेखकले अचम्म मानेका छन् । उनी लेख्छन्ः ‘शब्द पनि किन्न पर्ला जस्ता मानिस सम्पन्नतामा मानसिक तनाव प्रशस्त देखेँ ।’ तर विदेशमा यस प्रकृतिको व्यवहारलाई भने अस्वाभाविक ठानिदैन । परिचितहरूबीच लेखकले आफूलाई परिवारकै अभिन्न सदस्य जस्तै व्यवहार गरिएको अनुभव पनि सँगालेका छन् ।
तर भ्रमणकै क्रममा अति नै अपत्यारिलो र अत्यासलाग्दो क्षण पनि लेखकले व्यहोर्नु परेको चाहिँ चिनियाँ अध्यागमन कर्मचारीहरूको व्यवहारबाट भएको उनको भनाइ छ । तंग स्याओपिङ्गको ‘प्राग्मेटिज्म’ नीतिमा तल्लीन साम्यवादी चीनका कर्मचारी व्यवहारमा त्यति खरो नउत्रिनु लेखक मंगोलियामा आयोजित एउटा अन्तराष्ट्रिय सम्मेलनमा भाग लिई चिनियाँ वायुसेवाकै विमानबाट तिब्बतको वायुमार्ग भई काठमाडौं फर्किन खोज्दा मल्टिपल इन्ट्रि भिसा नभएको हुँदा अध्यागमनबाट फर्काइनु अनि त्यसको कारण भने लेखकको भनाइमा ‘प्रजातन्त्र र मानवअधिकार’ विषयक गोष्ठीमा भाग लिएका व्यक्तिलाई तिब्बत भई आवागमन गर्न नदिने चिनियाँ कर्मचारीको निर्णय निश्चय पनि उदेक लाग्दो थियो । उनको फिर्ती हवाई टिकट एयर चाइनाबाट उलान वाटर–पेचिङ–छेन्दु–ल्हासा भएर काठमाडौं आउनुपर्ने थियो । किनभने हवाइयात्रुले तिब्बत भूमिमा पाइला टेक्ने सम्भावना नै थिएन । चिनियाँ सरकारी कर्मचारीहरू यति बिघ्न अव्यवहारिक होलान् भनेर सोच्न पनि सकिँदैन । तर लेखक स्वयंको भोगाइले यो सत्य भने स्वीकार्नै पर्छ । यस्तो पनि हुनसक्छ र भन्ने प्रश्न चाहिँ आफ्नै ठाउँमा छ ।
लेखकले स्विडेन र डेनमार्कजस्ता युरोपका धनाढ्य राष्ट्रहरूमा बिताएका क्षणहरूको विवरण रोचक छ । उनले स्विडेनको भव्य शहर गथेनवर्गमा पुगेर नेपालबाट लगेको ‘वाइ वाइ’ चाउचाउ पकाएर खाएको स्मरण रमाइलो छ । आफूले घुमेका सबैजसो मुलुकहरूमा नेपाली आप्रवासीहरूसँगको जम्काभेट र उनीहरूसँग बिताएका क्षणहरूको विवरण लेखकको निम्ति अविस्मरणीय रहेको छ । त्यस्तै विश्वविद्यालयको एक सक्रिय प्राध्यापकको हैसियतले लेखकले दक्षिण कोरियाको केही उत्कृष्ट विश्वविद्यालय र अन्य मुलुकको शैक्षिक संस्था र शैक्षिक गतिविधिहरू अवलोकन गर्नुको साथै आफ्नो विश्वविद्यालयको शैक्षिकस्तरसँग प्रत्यक्ष दाँज्ने अवसर पाउँदा शिक्षाक्षेत्रमा हाम्रो मुलुक अझै धेरै प्रयत्नशील हुनुपर्ने उनले अनुभव गरेका छन् । यो वास्तविकता हो । शिक्षामा समुन्नत नभई मुलुकको विकासक्रम उन्नत नरहने यथार्थ पनि उनले विभिन्न मुलुकको शैक्षिक स्थितिबाट अवगत गरेका छन् ।
यो टिप्पणी होइन । यो पाण्डुलिपिको साधारण परिचय मात्र हो । लेखकको जीवन यात्राको एउटा महत्वपूर्ण सन्दर्भ पनि हो । किनकि हामी नेपालीमध्ये अधिकांशले विश्वविद्यालयकै शिक्षण पेशामा संलग्न रहे पनि धनप्रसाद पण्डितले जस्तो पटक पटक विदेश यात्रा गर्ने अनि विदा मनाउने सौभाग्य विरलै पाउँछौं । तसर्थ विदेश यात्राबाट उनले लिएको शिक्षा, बटुलेको अनुभवबाट सिक्ने अवसर यस पुस्तकका पाठकहरूले अवश्य नै पाउनेछन् । विवरणहरू रोचक छन् । त्यसैले पुस्तक पढौं ।

ध्रुव कुमार
प्राध्यापक, राजनीतिशास्त्र
वसुन्धरा–९, काठमाडौं–५