Friday, October 23, 2015

अन्यौलग्रस्त राजनीति




राजनीति शास्त्रका पिता भनेर आजको विश्वले प्लेटोलाई मानेको छ । वर्तमान विश्व शिक्षामा युरोपको व्यापक प्रभाव हुनु र अमेरिका युरोपियन पुर्खाबाट सञ्चालित भएकोले पनि विश्व व्यवस्था युरोपियन प्रभाव क्षेत्रको रुपमा विकास भएको हो । यसको पछाडि युरोपियन (विशेष गरेर ब्रिटिस शिक्षा पद्धति) को प्रभाव रहेको छ । लामो समय विश्वमा सबै भन्दा ठूलो साम्राज्य चलाएको बेलायती अंग्रेजी शिक्षा पद्धति भएका विश्व विद्यालय नै विश्वका उच्च स्तरका २०० मध्य १४६ विश्व विद्यालय छन् । शिक्षा ज्ञानको भण्डार, अधिकारको श्रोत, मानवीयताको द्योतक र अन्त्यमा संहारको ज्ञान पनि भएको क्षेत्र हो ।
विद्याशास्त्रं च शस्त्रं च द्वे विद्ये प्रतिपत्तय ।
आद्याः हास्याय वृद्धत्वे द्वितीया अदृतो सदा ।।
हाम्रो पूर्वीय पद्धतिमा पनि विद्यालाई दुई किसिमको मानेको छ । शास्त्र विद्या र शस्त्र विद्या । शास्त्र विद्या जीवनका पूहरेह घडी आवश्यक हुन्छ । शस्त्र विद्या भने केही समयको लागि बढी उपयोगी हुन्छ । बुढेसकालमा भिक्टोरिया क्रस पाउने गजे घलेले बयान गरे जस्तै मैले मलायाको जंगलमा यति जापानीजको टाउको काटेको थिएँ, चेकोस्लाभियामा यति जनालाई मृत्युको घाट उतारेको थिएँ आदि आदि बाल बच्चासँग गफ गर्न मात्र सिमित हुन्छ ।
शास्त्र विद्या जीवनको हरक्षण उपयोगि हुने भएकोकारण कतिपय मुलुकमा प्राध्यापन गर्न व्यत्तिःको निवृत्तिभरण र अनिवार्य अवकाशको उमेर नै हुँदैन । प्लेटोले भन्दा पहिले पनि मानव सभ्यता थियो । राज्य थिए, राज्य सञ्चालक पनि थिए । वेदले नै भनेको छ ‘वयं राष्ट्रे जाग्रयामः पुरोहितः’ पछिसम्म सन्तान दर्शसनतानको भालाईको लागि हामी राष्ट्रवादी हुनुपर्छ भनेर लेखिएको छ । यस हिसाबले प्लेटो भन्दा कमसेकम ६ हजार वर्ष पुरानो वेद हो भनेर जर्मन विद्वान म्याक्स मुलरले लेखेका छन् । त्यस हिसाबले हेर्दा पनि राज्य मानव मात्रको सुखी जीवन बनाउन संगठित समुदाय हो ।
प्लेटोले आजभन्दा चौबीस सय वर्ष अगाडि ग्रीकको वरिपरि रहेका देशहरुको अध्ययन गरे र यथार्थ जनसमक्ष ल्याए । राज्यलाई विभिन्न प्रकारका व्यवस्थाले चलाए पनि राम्रो राज्य हुन शासक जनताप्रति जिम्मेवार हुनुपर्छ भन्ने उनको विचार थियो । आफू बसेको राज्यमा प्रजातन्त्र भए पनि उनी त्यो व्यवस्थासँग सन्तुष्ट थिएनन् । त्यसैले धेरै शास्त्रको ज्ञान भएको सबैलाई समान देख्न सक्ने, परिवार र सम्पत्ति नभएको व्यक्तिलाई प्लेटोले आदर्श राज्यको प्रमुख हुनुपर्छ भनी लेखे । दार्शनिक राजा उनको राज्यको प्रमुखको रुपमा उनले वर्णन गरे ।
हालको नेपालमा अख्तियारले मच्चाइरहेको तहल्कासँग प्लेटो परिचित रहेछन्, त्यसैले पो उनले शासक वर्गलाई सम्पत्ति र श्रीमतीरहित बनाउन खोजे । शासक भ्रष्ट हुनसक्ने कुरा प्लेटोको विचारले पारिवारिक मोहजालले पनि शासक वर्गलाई अन्धो बनाईदिन्छ भन्ने कुरो नेपालका चप्पलदेखि पजेरो, जनवाददेखि चरम धनवादले २० वर्षमा छर्लङ्ग बनाई दिएको छ । ‘मेन इज द पोलिटिल अनिमल’ भनी लेख्ने प्लेटोले तत्कालीन समाजको स्वरुपलाई विचार गरे होलान त्यसैले ‘मेन इज ¥यास्नल’ पुरुष तर्कशक्ति वाला प्राणी हो । उसले योग्य अयोग्य छुट्याउन सक्ने भएकोले उसलाई मात्र शासन गर्ने अधिकार छ भनी लेखे । त्यसैले विदेशी, दास, बालबालिका र महिलालाई शासनको अधिकार दिएनन् । सायद त्यसबेलाको विश्व व्यवस्था सिमित व्यक्तिको राजनितिक अधिकारमै सिमित थियो ।
सन् १७८९ मा बनेको अमेरिकी संविधान प्रथम लिखित संविधानमा पनि महिला र काला, तथा विदेशीलाई मताधिकार थिएन । यसरी २१ सय वर्षपछि पनि अधिकार फरक थियो । १८८९ सम्म ब्रिटिस कानूनमा ‘म्यारिड उमेन आर प्रोपर्टी अफ देअर हजवेण्ड’ भनी लेखिएको छ । त्यस हिसाबले हेर्दा पनि विश्वमा म्याग्नाकार्टाको निर्माता बेलायतमा अलिखित संविधानको इतिहास भए पनि संवैधानिक राजतन्त्रसम्म पुग्दा आठ, नौ सय वर्ष लागेको देखिन्छ ।
प्लेटोका प्रसिद्ध चेला अरस्तुले भनेका छन् जनता एकै किसिमको सत्ताबाट सधैं सन्तुष्ट हुँदैनन् । शासक पनि सत्ता सञ्चालन सँगै बिग्रन्छन् चाहे राजतन्त्र (एकजनाको शासन) कुलिनतन्त्र (केही जनाको शासनं वा धेरै जनाको शासन (प्रजातन्त्र पोलिटी) नै किन नहोस् । सबै शासन व्यवस्थापमा विकृति आउँछ । विकृति आएपछि त्यो शासन व्यवस्था विरुद्ध आन्दोलन हुन्छ र राजनैतिक परिवर्तन हुन्छ । राजनैतिक व्यवस्था स्थायी ध्रुव सत्य हुनै सक्दैनन् ।
वर्तमान नेपालको संविधान सभा आपत्कालिन अवतरण गर्नुपर्ने हवाईजहाजको अवस्थामा छ । अवतरण सुरक्षितको गर्दा पुनः उडान गर्न सकिन्छ । यात्रुहरुलाई बचाउन सकिन्छ । खतरा मोल्न नसक्दा जहाज नै फुट्न सक्छ, सबैलाई जीउ ज्यानको खतरा छ ।
संविधान जस्तोसुकै सुन्दर राम्रो लोकतान्त्रिक, संघीय, संसदीय वा अध्यक्षात्मक जे भएपनि अनन्तसम्म नचल्न सक्छ । नेपालले जहानिँया शासन पद्धति, मिश्रित राजतन्त्र संसदीय प्रजातन्त्र, निर्दलीय पञ्चायत, संसदीय व्यवस्था, प्रत्यक्ष राजतन्त्र, निलम्बित राजा, खिचडीतन्त्र, सर्वपक्षीय सरकार मिलिजुली सरकार दुई पटकको संविधान सभा र व्यवस्थापिका संसद हेरी सकेका छौं । प्रधान न्यायधिश र प्र. मन्त्री एउटै व्यक्ति बनाएर लोक तन्त्रलाई ध्वजा ध्वजा पारि सकेको छ ।
यदि बहुमतीय प्रणालीमा विश्वास गरेको भए पहिलो संविधान सभामा एमाओवादी बहुमत प्राप्त पार्टी मै हाल्थ्यो । त्यसो भएको भए सरकार गठन गर्न २।३ महिनामा पनि लाग्दैथ्यो । सायद संविधान पनि बन्न सक्थ्यो । दोस्रो संविधान सभामा पनि कसैको बहुमत नपुग्नु सरकार निर्माण संसदीय व्यवस्थाको मान्यता विपरीत हुन पुग्यो । ठूला दुई दल मध्ये एक दलको सरकार अर्को प्रतिपक्ष हुनु पर्नेमा ठूला दलकै बाध्यात्मक सहमतिको सरकार बन्यो । नेपालमा सबै प्रयोग भइ सक्यो । संसदीय व्यवस्थामा दुई दुई निर्वाचन क्षेत्रमा पराजित व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल देखि संसदमै नभएकाहरु को मन्त्रीमण्ड प्रवेश पनि गैह्र संसदीय व्यवहार हो । अब विलम्ब नगरी संविधानलाई संशोधनको प्रक्रियाबाट पछि पनि समयानूकल परिवर्तन गर्न सकिन्छ भनेर हाल न्यूनतम सहमतिसहित संविधान जारी गरौं यसैमा सबैको जीत हुनेछ ।
देशलाई अनिर्णयको बन्दी बनाउँदा जनताले भोगेको दुःख बुझ्नुस् । हामीसँगैका अविकसित राष्ट्र कोरिया, मलेशिया, थाइल्याण्ड कहाँ पुगे । भारत र चीन फरक राजनीतिक व्यवस्था भएर पनि कसरी विश्वमा शक्ति राष्ट्रको रुपमा अघि बढिरहेका छन् । व्यवस्था साध्य होइन साधन मात्र हो । सक्षम, राष्ट्रवादी त्यागी नेता भएमा जे नाम भएको व्यवस्था भए पनि देशले द्रुत आर्थिक वृद्धि गरेका छन् । महेन्द्रकाल मै कोरियन राष्ट्रपति पार्क चुङ् ही ले देशलाई उच्च आर्थिक विकास तिर डो¥याए हामी कहाँ किन चुक्यौं ?
के हाम्रो राष्ट्र नेतृत्व विहीन नै भएको हो ? किन एक्काइसौं सताब्दीमा पनि हामी भोक, रोग, अशिक्षा, गरिबी र स्वार्थी नेताको चञ्गुलबाट छुटकारा पाउन सकेका छैनौं । के सो प्रश्न संविधान सभामा प्रतिनिधित्व गर्नेहरुतिर तेर्सिएको छैन ? प्रश्न ठ्रीक छ भने ६०१ र तिनका कमाण्डरसँग कुनै वहाना वाँकी छैन । तुरुन्त न्यूनतम समझदारी गरि यो वा त्यो नमूनाको राजनीतिक व्यवस्था सहितको संघीयता बनाउँदै संविधान जारि गर्नुस् देशलाई निश्चित बाटोमा डो¥याएर पछि भविष्य भावि पुस्ताको हो । तपाईले वर्तमानको मात्रै चिन्ता गर्नुस र कर्तव्य वोधका साथ संविधान जारि गर्नुस् ।

धनप्रसाद पण्डित
राजनीतिशास्त्र
पद्मकन्या क्याम्पस

0 comments: